१६ वटा म्यानपावरले मात्रै कतारमा कामदार पठाउन पाउने ?

काठमाडौं । कतारले आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको हल्ला बजारमा फैलिएको छ । कतारले छनौट गरेका म्यानपावरको नाम भन्दै १६ वटा कम्पनीको लिस्ट सार्वजनिक भएको हो । यो खबरपछि म्यानपावर क्षेत्रमा हंगामा मच्चिएको छ । कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती म्यानपावर कम्पनीको नाम सर्टलिस्ट गरेको भनिएको छ ।

नेपालस्थित कतारी दुतावास र कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरको मुख्यालयले स्वीकृत पठाएको भनिएको छ । सार्वजनिक भएको म्यानपावर कम्पनीको सूचीमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि रहेका छन् ।

व्यवसायीहरु आकस्मिक छलफलमा

कतारको रोजगारीमा सीमित म्यानपावरको सिन्डिकेटको प्रयास भएको हल्लापछि वैदेशिक रोजगार व्यवसायीहरु सशंकित बनेका छन् । यही विषयमा छलफल गर्न व्यवसायीहरुको आकस्मिक बैठक बसेको थियो । नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी संघको कार्यालयमा बसेको बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विष्णु गैरे लगायत सहभागी थिए । बैठकले बजारमा आएका हल्लाको आधिकारिकता पत्ता लगाउने र सही रहेछ भने यसको प्रतिरोध गर्ने निर्णय गरेको अध्यक्ष गैरेले बताए ।

‘को’भिड महा’मारीको बेलामा कसैले यस्तो गर्छ भने त्यो हामीलाई सैह्य हुँदैन । मेरो कार्यकालमा वैदेशिक रोजगारीमा कुनै पनि प्रकारको सिन्डिकेट हुन दिन्नँ भनेर मैले भनेको छु’ अध्यक्ष गैरेले भने, ‘मैले हिजो परराष्ट्रमन्त्रीज्यूसँग भेटेर पनि यही कुरा भनिसकेको छु ।’गैरेले यसबारे सर्टलिष्टमा नाम आएका म्यानपावर व्यवसायीसँग पनि आफूले कुरा गर्ने बताए । ‘मैले हेमदाइ (क्युभीसीका सञ्चालक) सँग कुरा गरिसकेको छु, उहाँले यो हल्ला मात्रै हो, म कुनै पनि सिन्डिकेट गर्दिन भन्नुभएको छ ।

एअरुसँग पनि कुरा हुन्छ । सिन्डिकेट हुन कुनै पनि हालतमा दिइँदैन ।’फ्रि भिसाको विवादका कारण मलेसियाको रोजगारी चौपट भएपछि कतार अहिले नेपालको प्रमुख श्रम गन्तव्य बनेको छ । हाल नेपाल सरकारबाट स्वीकृति प्राप्त सबै म्यानपावर व्यवसायीले कतारमा कामदार पठाउनसक्ने व्यवस्था छ । हाल ८ सय ५४ वटा म्यानपावर व्यवसायीले यस्तो स्वीकृति पाएका छन् । प्रमुख रोजगार गन्तव्यमा नै सिन्डिकेट हुन लागेको हल्लाले उनीहरु आतंकित बनेका हुन् ।

 

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार १४:३५
Loading...