दसैंअघि विदेशबाट नेपाल फर्किन चाहने अधिकांशले मौका पाउने,

१९ असोज, काठमाडौं । विगतको लकडाउनका कारण भिसा सकिएर विदेशमा अलपत्र परेका नेपालीहरु स्वदेश फर्किन आतुर छन् । बिदेशी मुलुकमा कार्यरत धेरै नेपालीहरु दसैंमा घर आइपुग्न चाहानु स्वाभाविक पनि हो ।

सरकारले मलेसियासहित खाडीका सबै गन्तव्यमा नियमित उडान खोलिसकेको छ । मलेसिया र खाडीस्थित मुलुकका दूतावासहरुको भनाइलाई मान्ने हो भने दैनिक कोटा हटाएर नियमित उडान खोलेपछि अलपत्र परेका नेपालीको अवस्था सामान्य उन्मुख भएको छ ।

अहिले सबै श्रम गन्तव्य मुलुकका नेपाली दूतावासको साझा भनाइ छ, ‘दसैंअघि फर्किन चाहने अधिकांशले मौका पाउँछन् ।’ नियमित उडान खुलेपछि घर फर्किन आतुर रहेकाहरुले टिकट काट्ने क्रम तीव्र बनाएका छन् ।

अब समस्यामा परेकाहरुलाई प्राथमिकताको सूचीमा पर्न रोइकराइ गर्नुपर्ने र सोर्सफोर्स लगाउनुपर्ने अवस्था हटेको छ । यो सँगै अब दसैंअघि नै विदेशमा अलपत्र धेरैजसो नेपाली स्वदेश आइपुग्न सक्ने अवस्था बनेको दूतावासका अधिकारीहरुको दावी छ ।

यस्ता नेपालीको संख्या करिब ५० हजारभन्दा बढी रहेको अनुमान छ । अहिले नियमित उडान भए पनि नेपालबाट फर्किने श्रमिकहरु नभएकाले स्वदेश आउने हवाई भाडा विगतकोभन्दा महँगो तिर्नुपर्ने अवस्था पनि छ । विदेशका चालु हालतका कम्पनीले सकेसम्म श्रमिकलाई भिसा थपेर बस्न बल गरेका छन् ।

नेपालमा महामारी बढ्दो अवस्थामा देखिएकाले विदेशमा भिसा नसकिएका र अन्य समस्यामा नपरेकाहरु यो वर्ष दसैं लक्षित गरेर घर आउने अवस्था भने देखिएको छैन ।

यात्रा सहज नहुने र विदेशबाट फर्किएका हरुलाई समाजमा सहज रुपमा नलिइने अवस्थाका कारण पनि बाध्यात्मकबाहेकको अवस्थामा श्रमिकहरु कमै नेपाल आउने दूतावासका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०५:२६
Loading...