काठमान्डौ । कतार सरकारले श्रम कानूनमा संशोधन गरी कामदारले रोजगारदाता कम्पनी परिवर्तन गर्दा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्थाअनुसार कम्पनी परिवर्तन गर्दा त्यसको जानकारी त्यहाँको सरकारलाई भने दिनुपर्नेछ । दुई वर्षभन्दा बढी अवधि कम्पनीमा काम गरिरहेको भए दुई महिनाको अग्रीम सूचना दिनुपर्ने कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
दुई वर्षभन्दा कम अवधि काम गरिरहेको भए एक महिनाको सूचना दिनुपर्ने र रोजगारदातासँग भएको करारको म्याद सकिने मिति भन्दा ३० दिनअघि सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ । यसैगरि करार पत्रमा करारको म्याद सकिने मिति उल्लेख नभएमा पाँच वर्षपछि मात्र सूचना दिन सकिने र पाँच वर्षपछि सूचना दिँदा ६० दिनको सूचना दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।
रोजगारदाता परिवर्तनको सूचना दिँदा कतारको श्रम मन्त्रालयको सूचना प्रणाली लिंकमा गएर दिनुपर्ने व्यवस्था छ । कतारको नयाँ आइ डी बनाउन कतारको आन्तरिक मन्त्रालय वाट प्रमाणीकरण हुनु पर्ने जनाएको छ । त्यसपछि नयाँ रोजगारदाता कम्पनीले कतारी आइ डी र हेल्थ कार्ड बनाइदिने दूतावासले जनाएको छ ।
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १५:०८