‘२५ सयमै पीसीआर जाँच हुन सक्ने, सरकारले किन लियो ५५ सय ?’

२३ भदौ, काठमाडौं पीसीआर परीक्षण गर्दा एकजनाको ५५ सय रुपैयाँ लाग्ने सरकारले तोकेको मूल्य हो । यही मूल्यअनुसार पीसीआर परीक्षणमा खर्च गरेको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । तर, अहिले ५५ सयलाई घटाएर ४४ सय रुपैयाँ सरकारी शुल्क तोकिएको छ । मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा २५ सय रुपैयाँमै पीसीआर जाँच हुन सक्ने हिसाब सुनेपछि सांसदहरु छक्क परे । अब यसबारे अध्ययन गर्नुपर्ने निश्कर्ष सो बैठकले निकालेको छ ।

शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित ‘को’रोना भाइरसको जोखीम रोकथामबारे सरकारले गरेका कामकारवाही अनुगमन उपसमिति’को बैठक मंगलबार बसेको थियो । छलफलमा सरकारी तथा निजी अस्पतालका पदाधिकारी तथा सञ्चालकहरु सहभागी थिए । उपसमितिले बिहान र दिउँसो गरी दुई सिफ्टमा उनीहरुसँग छलफल गरेको थियो । र, छलफलको विषय थियो- कोरोना महामारीमा अस्पतालहरुले के कसरी सेवा दिइरहेका छन् ?

पीसीआरको खर्च ५५ सय कि २५ सय ?

बैठकमा पीसीआर परीक्षणको शुल्कबारे हिसाब-किताब भयो । काठमाडौं मेडिकल कलेजका सहनिर्देशक डा.जेनस आचार्यले भने, ‘सरकारले ४४ सयमा गर्नू भन्यो, त्योभन्दा कममा जतिमा पनि गर्न त पाइयो नि । हामीले २५ सयमा गरिरहेका छौं र समयमै रिपोर्ट दिएका छौं, २/३ दिन लगाएका छैनौं । डा.जेसिन नजिकै रहेका वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेन्चुरीले सोधे, ‘कसरी सम्भव भयो २५ सयमा ? किटकै ८/९ सय पर्छ ।’

सरकारको काम अध्ययन गर्न गठित उपसमिति संयोजक जीवनराम श्रेष्ठले डा.जेनिससँग डा.सेन्चुरीको प्रश्नको जवाफ मागे । जवाफमा डा. जेनिसले भने, ‘९६ जनाको एकैपटक टेष्ट गर्ने हो । सुरुमा ५५ सयमा गर्दा ९६ पुग्न समय लाग्यो, दिनमा १०/२० आए । ४४ सयमा गर्दा ५० पुग्यो २५ सयमा गर्दा घाटा नहुने र छिटो रिर्पोट दिने गरी आउने भयो ।’वीर अस्पतालका अर्का डा. आशीष ढुङ्गानाले को’रोना टेष्ट खर्च ५५ सय सही कि २५ सय भन्नेमा अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘४४ सयमा हुन्थ्यो भने सुरुमा किन ५५ सय भनेको ? अहिले २५ सयमा भइरहेको छ भने यो दुबैबारे अध्ययन आवश्यक छ । २५ सयको क्वालिटी के छ र सुरुमा सरकारले ५६ सय किन भनेको ?’

अस्पतालमा तलब खुवाउन समस्या

छलफलमा सहभागी अधिकांश अस्पतालका पदाधिकारी र सञ्चालकहरुले कर्मचारीलाई तलब खुवाउन समस्या पर्न थालेको गुनासो सांसदहरुलाई सुनाए ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. रोहित पोखरेलका अनुसार स्पतालले आन्तरिक स्रोतबाट करिब ८ करोड रुपैयाँ कर्मचारीको तलबका लागि छुट्याउनुपर्ने हुन्छ । उनले भने ‘कोरोना भाइरसको महामारीपछि आम्दानी घटेको छ । कर्मचारीलाई तलब खुवाउनै गाह्रो छ ।’

वीर अस्पतालका कार्यकारी निर्देशक डा. .सेन्चुरीको गुनासो पनि उस्तै थियो । ‘कोभिडभन्दा पहिले दैनिक ११ देखि १२ लाख आम्दानी हुने गरेको थियो । अहिले घटेर दिनको एक/दुई लाखमा आइपुगेको छ । आम्दानी कम हुँदा अस्पतालको आन्तरिक स्रोतबाट तलब खुवाउनुपर्ने कर्मचारीहरुलाई खुवाउन सकिएको छैन’ डा.सेन्चुरीले भने ।

ग्राण्डी अस्पतालका कार्यकारी निर्देशक डा.चक्रराज पाण्डे, बीएण्डबी अस्पतालका कार्यकारी निर्देशक प्रकाश भट्टराई र पाटन अस्पतालका कार्यकारी निर्देशक रवि शाक्यको पनि उस्तै गुनासो थियो ।

सरकारले कोरोना भाइरसको रोकथाम र उपचारका खटिएका स्वास्थ्यकर्मीलाई दिने भनेको जोखिम भत्ता हालसम्म कसैले पनि प्राप्त गर्न नसकेको अस्पतालका सञ्चालकले गुनासो गरे । उनीहरुले संसदीय समितिलाई सरकारबाट स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन गरी पहल गरिदिन आग्रहसमेत गरे ।

वीर अस्पतालको बेग्लै समस्या

छलफलमा वीर अस्पतालका कार्यकारी निर्देशक डा. सेन्चुरी र डा. ढुङ्गाना उपस्थित थिए । सांसदहरुले वीर अस्पतालको सेवा निकै कमजोर भएको जनगुनासो रहेको आरोप उनीहरुमाथि लगाए । सरकारले यही २१ भदौदेखि वीर अस्पतालमा को’भिडका बिरामीको उपचार गराउने निर्णय गरेको छ । वीरका कार्यकारी निर्देशक डा.सेन्चुरीका अनुसार स्वास्थ्यकर्मीलाई नै कोरोना पुष्टि भएपछि वीरमा स’मस्या परेको छ । उनका अनुसार वीर अस्पतालका ७५ जना कर्मचारीलाई को’रोना पुष्टि भएको छ । ८७ जना कन्ट्र्याक ट्रेसिङमा परेर क्वारेन्टिनमा छन् ।

अस्पतालका कर्मचारीहरुलाई चिया पसल र सार्वजनिक सवारीबाट समेत संक्रमण रहेको अनुमान रहेको उनले बताए । ‘कर्मचारीलाई छुट्टै राख्न सकिएको छैन । कोही सार्वजनिक यातायात चढेर आउँछन् । उनीहरुलाई पनि सं’क्रमण, कसैलाई चिया पसलबाट सर्‍यो भन्ने छ’ डा.सेन्चुरीले भने, ‘कोरोना भाइरस समुदाय स्तरमा नै फैलिएका कारण स्वास्थ्यकर्मीहरु असुरक्षित भए ।’वीरको सेवा प्रवाह राम्रो नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफमा डा. सेन्चुरीले भने, ‘सेवा दिने कुरामा निजीको जस्तो सेवा दिन नसकिएको भए पनि कम शुल्कमा र निशुल्क उपचार हुने भएका कारण वीर अस्पतालमा नागरिकहरुको चाप अन्यत्रभन्दा धेरै हुने गरेको छ ।’

पीसीआर रिर्पोटमा किन ढिला गरेको ? भन्ने प्रश्नको जवाफ दिँदै अर्का डा. आशीष ढुङ्गानाले भने, ‘एक लटमा ९६ वटाको टेष्टिङ हुन्छ । एउटा-एउटा पनि हुन्छ तर, शुल्क ९६ वटा र एउटाको पनि उत्तिकै लाग्ने भएका कारण छुट्टाछुट्टै गर्ने कुरा भएन । रातभरि आएको बिहान टेष्ट हुन्छ, बिहान ११ बजेदेखि दिनभरि आएको स्वाब बेलुकी टेष्टमा हाल्छौं । यसरी २४ घण्टामा रिर्पोट उपलब्ध गराउने गरेका छौं ।’

तर, कतिपय केसहरुमा पुरै नेगेटिभ र पोजेटिभ नभएर बोर्डर लाइनमा आउने र पुनः टेष्ट गर्दा ४८ घण्टा लाागेको डा. ढुङ्गानाको जवाफ थियो । छलफलमा सहभागी बीएण्डबी अस्पतालकी कोभिड व्यवस्थापन प्रमुख संगीता शाक्यले प्लाज्मा बैंकको माग गरिन् । उनले भनिन्, ‘सरकारलाई एउटा अनुरोध गर्न चाहन्छु- प्लाज्मा बैंक भयो भने धेरै सहज हुन्छ । यसका लागि पहल होस् ।’

 

प्रकाशित मिति २३ भाद्र २०७७, मंगलवार १७:५८
Loading...