काठमाडौं । सरकारले रोजगार खुलाएका विभिन्न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । “रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो,” एक मन्त्रीले भने ।
त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ ।
यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो । दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो ।
यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
प्रकाशित मिति १४ भाद्र २०७७, आईतवार १९:५५