पेटको दुखाइका लागि उपयोगी यी तीन आसनहरू,

काठमाडौं ग्यास्ट्रिक रोग अहिले नेपालीको साझा रोग जस्तै बनिसकेको छ हिजोआजको व्यस्त जीवनशैलीमा खानाको ठेगान नहुँदा धेरैमा पेटसम्बन्धी समस्या हुने गरेको देख्न सकिन्छ । धेरैमा, अपच, कब्जियत आदि पनि अहिले धेरैमा सामान्य बन्न लागिसकेको छ ।

यस्ता समस्या समाधानको लागि नियमित औषधि सेवन गर्नु पनि महँगो साबित हुन लागिसकेको छ । तर यसको लागि योग एउटा विकल्प बन्न सक्छ ।

योगमा विभिन्न आसनहरू हुन्छन् । जुन स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको लागि उपयोगी हुन सक्छ । तीमध्ये पेटको समस्याको लागि उपयोगी मानिने विभिन्न आसनहरूको व्याख्या तल गरिएको छ ।

पवनमुक्तासन

पेटको समस्याबाट राहत पाउनको लागि योगासनमध्ये यो आसन उपयोगी हुने बताइन्छ । यो आसनले ग्यास्ट्रिक र पेट भारी हुने समस्यालाई समाधान गर्ने गर्छ । यो आसनमा नियमित योग गर्दा शरीरमा शक्ति प्राप्त हुन्छ । दिमाग शान्त रहने र दिनभरि शरीरमा ऊर्जा प्रदान गर्न पनि यो आसन उपयोगी हुने उनी बताउँछन् । यसले मेरुदण्डलाई बलियो र लचिलो बनाउनमा मद्दत गर्छ ।

कसरी गर्ने यो आसन ?

. म्याटमा हात र खुट्टा फिँजाएर उत्तानो परेर सुत्ने ।

. लामो सास तान्ने र छाड्ने ।

. बिस्तारै खुट्टालाई घुँडाबाट खुम्याउने र घुँडालाई छातीतर्फ ल्याउने ।

. घुँडालाई छातीमाथि ल्याएपछि हातले घुँडालाई समाएर बिस्तारै मुन्टो पनि माथि उठाउने ।

. त्यसपछि बिस्तारै सास छोडेर बिस्तारै हात र खुट्टालाई पुरानै अवस्थामा पुर्‍याउनुहोस् । दैनिक आठ–दशचोटि यो आसन गर्ने प्रयास गर्नुहोस् ।

उत्तानसाना

यो आसन पेटको दुखाइबाट राहत पाउनको लागि गर्ने गरिन्छ । यसले टाउकोमा सहज रक्तसञ्चारको लागि सहयोग गर्ने गर्छ । यो आसनले पनि दिमागलाई शान्त बनाउन मद्दत गर्छ । टाउको दुख्ने, अनिद्राको समस्या आदि समाधानमा पनि यो सहायकसिद्ध हुन्छ । यदि कसैलाई कम्मर र जोर्नीेसम्बन्धी समस्या छ भने, यो आसन नगर्दा राम्रो हुने योग गुरुहरू बताउँछन् ।

योग गर्ने विधि

. सर्वप्रथम सिधा उभिनुहोस् ।

. हातलाई कम्मरमा राख्नुहोस् ।

. बिस्तारै अगाडि झुनुहोस् ।

. शरीरलाई यसरी झुकाउनुहोस् कि दुवै हातहरूले भूमि छुन सक्छन् । यदि यसमा कठिनाइ छ भने घुँडालाई अलिकति मोड्न सकिन्छ ।

. हातलाई खुट्टाको दाहिनेतिर लैजानुहोस् ।

. एक मिनेटसम्म यही आसनमा रहनुहोस् ।

उत्तानपादना

यो आसनले ग्यास्ट्रिक, कब्जियत आदि कम गर्न सहयोग पुर्‍याउँछ । यसले पेटको बोसो पनि कम गर्छ । शरीरको पछाडिपट्टिको दुखाइलाई कम गर्न पनि यो आसन उपयोगी रहेको मानिन्छ ।

योग गर्ने तरिका

. सुरुमा उत्तानो परेर सुत्नुहोस् ।

. लामो सास फेर्नुहोस् ।

. दुवै हातको हत्केलालाई भुइँमा राख्नुहोस् र खुट्टा सिधा बनाउनुहोस् ।

. बिस्तारै एउटा खुट्टालाई माथि उठाउनुहोस् । यदि सास रोक्न गाह्रो भइरहेको छ भने बीचैमा सास फेर्न पनि सकिन्छ ।

. यस स्थितिमा करिब ३० सेकेन्डदेखि १ मिनेटसम्म बस्नुहोस् ।

. फेरि खुट्टालाई बिस्तारै भुइँमा सुताएर राख्नुहोस् ।

 

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार १६:४५
Loading...