जापानमा बसेर नेपालका सामाजिक कार्यमा सक्रिय रविन श्रेष्ठ
भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका, मकैसिंग पोखरीका स्थायी बासिन्दा हुन् । उनी हाल जापानमा बस्दै आएका छन् । वि.सं. २०७० सालमा पढाइको लागि जापान गएका उनी सानै देखि सहयोगी भावनाका थिए । उनले जापानमा गएर पढाई सँगसँगै काम पनि गर्न थाले । आफ्नो लागि सबै खर्च आफै जुटाउन विदेशमा त्यति सजिलो थिएन तर पनि परोपकारी भावनाका श्रेष्ठले समाज सेवालाई पनि निरन्तरता दिए । उनले नेपालस्थित आफ्नै गाउँमा करिब १० लाखको व्यक्तिगत खर्चमा मन्दिर बनाए ।
त्यतिमात्रै हैन मकैसिंग भीरबाट मान्छेहरु आवतजावत गर्न निकै गाह्रो हुन्थ्यो उनले त्यो भीरमा मानिसहरु सहजै हिड्न सक्ने गरि आफ्नै लगानीमा बाटो बनाइदिए । जसले त्यहाँका स्थानीयहरुलाई आवत जावत गर्न निकै सजिलो भएको छ । स्थानीय समेत खुसी भएका छन् । गाउँमा सेवा गर्न पाउँदा गाउँलेहरु भन्दा धेरै खुसी भएका छन् रविन श्रेष्ठ । उनी भन्छन् “थोरै भएपनि आफु जन्मेको गाउँमा सेवा गर्न पाउँदा निकै खुसी छु, सेवा गर्ने मौका सबैले कहाँ पाउँछन् र ? यो त मेरो लागि सौभाग्यको कुरा हो ।” यति मात्रै हैन परोपकारी भावनाका श्रेष्ठले गाउँमा अरुपनि थुप्रै काम गरेका छन् ।
उनले गाईवस्तुले पानी खाने पुरानो पोखरी निर्माणको लागि ५० हजार सहयोग गरे । कोरोनाको माहामारीका कारण विश्व त्राहिमान बनिरहेका बेला काठमाडौको तारकेश्वर नगरपालिकाका ५८ घर परिवारलाई राहत वितरण गरे जापानमा बसेर पनि ।
२ वटा बालआश्रममा कोरोनाको महामारीकै बेला आर्थिक सहयोग गरे । एक जना ब्लड क्यान्सका विरामीलाई पनि आर्थिक सहयोग गरेका छन् भने एसिड आक्रमणको विरामीलाई पनि आर्थिक सहयोग गरे । बलात्कार पछि हत्या भएको परिवारलाई पनि श्रेष्ठले आर्थिक सहयोग गरेका छन् भने उनकै गाउँ गोरखाका २ जना विरामीलाई पनि आर्थिक सहयोग गरे ।
श्रेष्ठले जापनमा बसेर अहिले सम्म नेपालमा विभिन्न समस्या परेकाहरुलाई विभिन्न समयमा आर्थिक सहयोग गर्दै आएका छन् । यति मात्र हैन उनले जापानमा पनि विरामीहरुलाई अनि सहयोगको आवश्यकता परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनी भन्छन् “देवता खोज्न मन्दिरमा जानु पर्दैन, देवताहरु हाम्रो वरपर नै छन् तर चिन्न सक्नुपर्छ ।” आगामी दिनहरुमा सामाजिक कार्यमा सक्रिय भएर लाग्ने श्रेष्ठको भनाई छ ।
प्रकाशित मिति २७ बैशाख २०७७, शनिबार ०७:२६