ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै सबै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ ।
यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् ।‘किसानसँग सस्तोमा किनेर कोल्ड रुममा राखेको फ्रोजन मासुसमेत ठूला व्यापारीले किलोको तीन सय ६० रुपैयाँ भन्न थालेका छन् ।
असोजदेखि मंसिरसम्म ब्राइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसमेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य नै दुई सय २० को हाराहारीमा थियो ।
यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोगबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।नागरिक दैनिकबाट ।
प्रकाशित मिति १९ माघ २०७६, आईतवार ०५:१३