रोनाल्डोले सन् २०२० मा तोड्न सक्ने किर्तिमानहरु

३४ वर्षीय फरवार्ड क्रिस्टियानो रोनाल्डोले विगत एक दशकदेखि विभिन्न किर्तिमानहरु तोड्दै आइरहेका छन् । सन् २०२० मा उनले थप नयाँ किर्तिमानहरु बनाउ सक्नेछन् ।  उनी अहिले युभेन्टसलाई तेस्रो च्याम्पियन्स लिग दिलाउने मिसनमा रहेका छन् । सन् १९९५–९६ पछि ओल्ड लेडीका लागि यो पहिलो उपाधि हुनेछ ।

त्यस्तै, इटालियन लिगमा युभे लगातार नवौँ उपाधि जित्ने होडमा रहेको छ । लिगमा मात्र नभएर पोर्चुगलका लागि अन्तर्राष्ट्रिय खेलहरुमा पनि रोनाल्डोले विभिन्न किर्तिमानहरु भङ्ग गर्न सक्नेछन् ।

सबैभन्दा धेरै युरोपियन कपको उपाधि – सन् २०१८ मा लिभरपुललाई हराउँदै रियल म्याड्रिडसँग रोनाल्डोले आफ्नो करियरको पाँचौ च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सन् २०२० मा युभेन्टसलाई यो उपाधि दिलाउन सके रोनाल्डोले किर्तिमानी छैटौँ पटक यो उपाधि जित्ने छन् । यसअघि, फ्रान्सिस्को गेन्टोले पनि सन् १९५६ देखि १९६६ को बीचमा रियल म्याड्रिडका लागि ६ पटक उपाधि जितेका थिए ।

युरोपियन च्याम्पियनसीपको सर्वाधिक गोलकर्ता – रोनाल्डोले पोर्चुगलका लागि चार युरोपियन च्याम्पियनसीपमा नौ गोल गरेका छन् । हाल उनी मिचेल प्लाटिनीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहेका छन् । सन् २०२० को प्रतियोगितामा उनले थप एक गोल मात्र गर्न सके युरोपियन च्याम्पियनसीपको एकल सर्वाधिक गोलकर्ता बन्नेछन् ।च्याम्पियन्स लिगमा सबैभन्दा बढी ह्याट्रिक – च्याम्पियन्स लिगमा रोनाल्डोसँगै लियोनेल मेस्सीले सर्वाधिक ८ वटा ह्याट्रिक गरेका छन् । यो वर्ष उनले बार्सिलोनका स्टारलाई पछि छाड्ने अवसर रहेको छ ।

इङ्ल्याण्ड, स्पेन र इटालीमा सर्वाधिक गोलकर्ता – इटालियन लिगमा रोनाल्डोले अहिलेसम्म १० गोल गरेका छन् । उनी यो सिजन सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा रहेका छन् । उनी अघि जोआओ पेड्रोले ११, रोमेलु लुकाकुले १२, सिरो इमोबाइलले १७ गोल गरेका छन् । सन् २०२० मा उनले गोल सङ्ख्या थप्दै लिगको सर्वाधिक गोलकर्ता बन्न सके युरोपमा तीनवटा शीर्ष लिगमा सर्वाधिक गोलकर्ता बन्ने उनी पहिलो खेलाडी बन्नेछन् ।

अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोलकर्ता – अन्तर्राष्ट्रिय खेलहरुमा रोनाल्डोले ९९ गोल गरेका छन् । उनी इरानका अली देइको १०९ गोलको किर्तिमान नजिक रहेका छन् । यो वर्ष उनीसँग यो किर्तिमान पनि भङ्ग गर्ने अवसर रहेको छ ।

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार ०६:५८
Loading...