गोर्खालीहरुलाई हङकङमा जागिर दिने घोषणा

महिनौं लामो आन्दोलन चर्कंदै जाँदा हङकङका कतिपय कलकारखाना र कम्पनीहरू बन्द वा अस्तव्यस्त भएका छन् । जनजीवन प्रभावित हुँदै गइरहेको छ । आन्दोलनको प्रभावमा नेपालीसमेत पर्न थालेका छन् । यहीवीचमा हङकङका सरकारी अधिकारीले नेपालीहरुलाई सुरक्षा गार्डमा जागिर दिने घोषणा गरेका छन् ।

पछिल्लो केही समययता आन्दोलनकारीले हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा समेत धर्ना र आन्दोलन गरेर उडान ठप्प पारिदिँदा कतिपय राष्ट्रले आफ्ना नागरिकहरूलाई हङकङको भ्रमण नगर्न चेतावनी नै दिएका छन् । हरेक दिनजसो विदेशका झण्डाहरूमा दुव्र्यवहार गरिएको समाचारहरू देख्न र सुन्न पाइन्छ । जसले गर्दा यो आन्दोलनको बाछिटा अन्य देशहरूमा पनि पर्दै गएको छ ।

एसियाकै उत्कृष्ट व्यापारिक ‘हब’ यस देशमा साना–ठूला गरी सबैजसो व्यवसायहरूमा प्रत्यक्ष–अप्रत्यक्ष असरहरू देख्न सकिन्छ । हङकङभरिमै सबैभन्दा सस्ता गेस्टहाउस रहेको सिम साई सुईस्थित चुङ्गकिङ्ग मेन्सनमा गेस्टहाउस व्यवसाय गर्दै आएका थापा थरका एक नेपाली व्यवसायी पछिल्लो ४५ दिनदेखि आफूले एकजना पनि ग्राहक पाउन नसकेको बताउँछन् ।

थापाको यो भनाइबाट हङकङको आन्दोलनले व्यापार–व्यवसायमा कस्तो असर पारेको छ भन्ने देखाउँछ । त्यस्तै, प्रायः नेपालीहरूले काम गर्ने कन्स्ट्रक्सन तथा रेस्टुरेन्टहरू पनि प्रभावित हुँदा हजारौंको संख्यामा रहेका नेपाली तथा नेपालीभाषी बेरोजगार वा अर्धबेरोजगार बन्न पुगेका छन् ।

यसैबीच, हङकङको रेलसेवा (एमटीआर) का प्रमुख कार्यकारी अधिकृत ज्याकोब काम चाक–पुईले गत शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा गोर्खा (नेपालीहरू) लाई सेक्युरिटी गार्डमा प्राथमिकता दिएर रोजगारी दिने निर्णय गरेको सुनाए । सयौंको संख्यामा दिइने यस्ता रोजगारीहरूको पारिश्रमिक आकर्षक रहनेछ । र, यसलाई एमटीआरकी प्रवक्ताले पुष्टि पनि गरिसकेकी छन् ।

विभिन्न कालखण्डहरूमा विश्वकै भू–भागहरूमा जस्तै ब्रिटिस शासनकालमा सन् १९९७ जुलाई अघि ब्रिटिस सेनाका रूपमा यही हङकङमा पनि नेपालीले अगंपंक्तिमा रहेर भूमिमा निर्वाह गरेका थिए । त्यही इतिहासको मूल्यांकन गर्दै नेपालीलाई रोजगारी दिने घोषणा गरिएकाले यसको विविध पाटा–पक्षको विश्लेषण गरिनु आश्वयक देखिएको छ ।

अब हङकङको आन्दोलनको पृष्ठभूमिबारे चर्चा गरौं ।

सन् १९९७ जुलाई १ बाट ब्रिटिसको शासन अन्त्य भई चीनको स्वामित्वमा आएको हङकङमा ‘एक राज्य, दुई व्यवस्था’को अवधारणा अनुरूप शासन हुँदै आएको छ । यहाँ आन्तरिकरूपमा हङकङ सरकार छ र बाह्यरुपमा बेइजिङको शासन छ ।

पछिल्लो समय हङकङ सरकारले सुपुर्दगी कानून सदनमा पेस गर्‍यो र अति विवादित हुन पुग्यो । जसको उद्देश्य थियो, कुनै पनि मुद्दामा कुनै पनि व्यक्तिलाई पक्राउ गरी चीनमा हस्तान्तरण गर्न सकिनेछ । अहिले चलिरहेको आन्दोलनको मुख्य जग नै यही विवादित विधेयक हो ।

लाखौं जनता सडकमा ओर्लिएर भइरहेको यो आन्दोलन अहिलेसम्म आइपुग्दा हिंसात्मक बन्दै गइरहेको छ । हालसम्म ९ जना प्रदर्शनकारीको ज्यान गइसकेको छ भने हजार बढी पक्राउ परिसकेका छन् । यद्यपि, प्रदर्शनका क्रममा भएको मृत्युलाई सरकारी निकाय आत्महत्या मान्छ भने प्रदर्शनकारीहरू चाहिँ प्रहरीले हत्या गरेको वा मर्न बाध्य पारेको आरोप लगाउँछन् ।

अन्य दिनहरूको तुलनामा छुट्टीका दिन प्रदर्शृन बढी चर्किएकाले त्यहाँको रेल सेवा(एमटीआर) स्टेसन र रेलभित्रै पनि झडपहरु हुन थालेका छन् । गत जुलाई २१ को राति युनलङ्ग स्टेसनमा घर फर्कंदै गरेका प्रदर्शनकारीलाई लक्षित गरी सेतो पोसाकधारीहरूको एउटा समूहले स्टेसनभित्र रेलभित्रै जथाभावी हमला गर्दा आन्दोलनकारीसहित सर्वसाधारण, वृद्ध, पत्रकार र आन्दोलन समर्थित एक सांसद्सहित ४५ जना घाइते भएका थिए ।

माक्स लगाएर लाठी र चक्कुसमेत बोकेर आएको उक्त समूहले जथाभावी कुटपिट गर्दै गर्दा सोही स्टेसनमा रहेका दुईजना प्रहरी निस्केको भिडियो पछि सार्वजनिक भएको थियो । युनलुङ्ग प्रहरी स्टेसनबाट करीब ५ मिनेटको दूरीमा यो घटना भएको थियो भने त्यहाँ आउन प्रहरीलाई ४५ मिनेट लागेको थियो । उनीहरु आएपछि पनि पीडित र त्रसितहरूप्रति रूखो व्यवहार गरेका थिए ।

त्यस रातपछि आन्दोलनकारी र प्रहरीबीच अरू दूरी बढ्न पुग्यो । यद्यपि, एमटीआर र प्रदर्शनकारीहबीच तबसम्म कुनै वैमनस्यता थिएन । त्यसपछि पनि एमटीआर र स्टेसनहरूमा साना–ठूला घटना भइरहे ।

गत अगस्ट ३१ को रात एउटा ठूलो घटना भयो, जसले एमटीआर र आन्दोलनकारीबीचमा पनि दूरी बढाउने काम गर्‍यो । त्यसरात प्रिन्स इडवार्ड स्टेसनमा प्रहरी प्रवेश गर्‍यो र घर फर्कंदै गरेका आन्दोलनकारीलाई अन्धाधुन्ध कुटपिट गर्दा केहीको मृत्यु नै भएको प्रदर्शनकारीको दावी छ । प्रहरी भने मृत्यु भएको स्वीकार्दैन । तर, सत्यता के हो भने त्यस रातपछि केही प्रदर्शनकारी परिवारको सम्पर्कमा पुगेका छैनन् ।

प्रदर्शनकारीहरूले उक्त रातको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने माग राखेका छन् भने एमटीआर र प्रहरीले उक्त फुटेज दिन अस्वीकार गर्दै आएका छन् । झडपकै क्रममा भाग्दै आएका प्रदर्शनकारीलाई उक्त स्टेसनमा रेल नै नरोकी दिँदा र रोक्दा पनि ढोका नखोलिदिँदा एमटीआर र प्रदर्शनकारीको बीचमा ठूलो खाडल बन्न पुग्यो । सोही रात त्यही स्टेसनसँगै प्रदर्शनकारीले अन्य स्टेसनहरूमा तोडफोड र आजनी गर्न थाले र यो अद्यपि जारी छ । केही दिन पहिले विमानस्थल नजिकका स्टेसन तोडफोड गर्दा यात्रु अलपत्र परेको तथा पैदल नै हिँडिरहेको समाचार आएको थियो ।

अब फर्कौं गोर्खालीको रोजगारीको विषयमा ।

यस्तो विषम् परिस्थितिमा अग्रपंक्तिमा रहने गरी तोकेरै गोर्खाहरूलाई रोजगारी दिने एमटीआर अध्यक्ष कामको निर्णयको विषयमा १५ सेप्टेम्बरमा ‘साउथ चाइना मर्निङ पोस्टमा समाचार छापिएको थियो । जहाँ कामले अति हास्यास्पद तर्क दिएका छन् । उनले भनेका छन्, ‘नेपालीहरूले हङकङमा बोलिने चाइनिज भाषा क्यान्थोनिज बुझ्दैनन् । प्रदर्शनकारीले क्यान्थोनिजमा गर्ने गाली नबुझ्दा उनीहरूको भावनामा ठेस पुग्ने छैन । र, सजिलै प्रभावित हुने वा उत्तेजित हुने खतरा पनि रहँदैन ।

एमटीआर अध्यक्षको उक्त योजनाका बारेमा गोर्खा सेमेन्टरिज ट्रस्टका सेक्रेटरी आमोद राई भन्छन्, ‘यो योजना सही होइन । हामीलाई मानव ढाल बनाउन खोजिँदैछ । पहिलो त, पूर्वगोर्खा सैनिकहरू अहिले रिटायर्ड जीवन बिताइरहेका छन् । अर्को, त्यो सोच आफैंमा रूढीवादी सोचको उपज हो । र, हामीलाई राजनीतिक मुद्दामा खिच्न खोजिँदैछ ।

यता, एमटीआर भने केही नेपालीहरूलाई भर्ती गराइसकेको बताउँदा आन्दोलनकारीहरुका एक नेता तथा युनिसव हङकङकी संस्थापन फेर्मी ओङ्ग भन्छिन्, ‘यो विभेदकारी र बेसुरको योजना हो ।’

उनका अनुसार, हङकङमा छोटो समय बसेका र अल्पसंख्यक गैरनिचिनियाँ पनि चिनियाँ भाषाका अपशब्द बुझ्न सक्छन् । यसले समस्या घट्ने होइन, थपिनेछ । उनी भन्छिन्, ‘मलाई यसले व्यक्ति विभेदको समस्या झन् थपिने चिन्ता छ ।’

आन्दोलन पेचिलो बन्दै जाँदा नेपाली उखान ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाको अनुहार’ भनेजस्तो परिस्थितिमा रोजगारी आश्वासन दिइएको छ । रोजगारीको अवसर स्वीकार्ने या इन्कार गर्ने नेपालीहरूकै विवेकमा भर पर्छ ।

केही समयअघि आन्दोलन चरमोत्कर्षमा पुग्दा नेपाल वाणिज्य दूतावासका वाणिज्य दूत कमलप्रसाद भट्टराईको अध्यक्षतामा नेपाली व्यवसायी, समाजसेवी तथा हङकङ निवासी नेपाली बुद्धीजीवीहरूको बैठक बसेको थियो । जुन बैठकले नेपालीभाषीलाई सरकार वा आन्दोलनकारी कुनै पनि पक्षसँग झुकाव वा विरोध नगरी तटस्थ रहन सल्लाह दिने निर्णय भएको थियो । प्रदर्शन वा सोको विरोधमा गतिविधि नगर्न बैठकले नेपालीहरुलाई सल्लाह दिएको छ ।

सायद यो निर्णय नै अहिलेको परिस्थितिमा नेपालीहरूलाई हितकर छ । तर, अहिले केही सयको संख्यामा नेपालीहरूले उक्त काम गरेको खण्डमा उनीहरू अग्रपंक्तिमा रहनेछन् र प्रदर्शनकारीसँग मुठभेड गर्नेछन् ।

निडर र इमन्दार स्वभावका नेपालीहरूले एमटीआर, हङकङ सरकार र हङकङ प्रहरीको मन जित्लान्, त्यो अर्को पाटो हो । तर, उनीहरूले लड्ने भनेको यहीँका स्थानीय व्यक्तिहरूसँग हो ।

आन्दोलनको सुरुवातीदेखि अहिलेसम्म आइपुग्दा नेपालीहरू कहीँ पक्ष÷विपक्ष वा विवादमा परेको सुनिएको छैन । एकातिर प्रदर्शनकारीहरु सरकारसँग रुष्ट छन्, अर्कातिर प्रहरी पनि आक्रामक बन्दै गइरहेका छन् । प्रहरीहरूले नै धान्दै आएको एउटा काममा आन्दोलनकारीसँग भिड्नका लागि नेपालीहरूलाई खडा गरिँदा यसको । केही हजार जनसंख्या रहेका अल्पसंख्यक नेपालीहरूबाट केही सयलाई यस्तो जागिर दिई नागरिक–नागरिक भिडाउन खोजिनु पनि आफैंमा एउटा गम्भीर भुल असर दीर्घकालीन पर्न सक्ने देखिन्छहुन सक्छ ।

विषम् परिस्थितिमा पाइएको यो जागिर भोलि आन्दोलन साम्य भएमा खोसिएला । तर, जागिरको क्रममा मुठभेड भई केही अप्रिय घटना भएमा जातीय विभेद र दाग पुस्तौं पुस्ता नरहला भन्न सकिन्न । गोर्खालीहरूको बहादुरी र इमान्दारिता प्रयोग होस् तर, दुरुपयोग नहोस् । गोर्खालीको स्वर्णिम इतिहासलाई तोडमोड नगरियोस् ।

(अधिकारी हङकङमा बसोबास गरिरहेका नेपाली हुन्)

 

प्रकाशित मिति १६ पुष २०७६, बुधबार १०:४४
Loading...