हवाई कम्पनीले उडान डिले , क्यान्सिल वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् ।

१३ पुस, काठमाडौं । हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) वा हवाई यात्रा गर्ने अवसरबाट वञ्चित गरेमा यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्ने भएका छन् । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यो प्रावधान समेटिएको हो ।

सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक उड्डयन ऐन २०७६’ को मस्यौदा तयार पारेको छ । उक्त मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्त्रिपरिषद्मा गएको छ ।

ऐन लागू भएपछि हवाई सेवा संचालन गर्ने उद्योगले हवाई यात्रुको जानकारीका लागि यात्राका शर्त, सुविधा तथा हवाई भाडाका दर पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्छ । उद्योगका कारणबाट यात्रुको उडान रद्द भए, ढिला भए वा उडान नै गर्न नपाउने अवस्था आएमा हवाई यात्रले आफ्नो अधिकारी प्रयोग गर्न सक्नेछन् । त्यसका लागि भने नियामक निकायले मापदण्ड निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालमा साँघुरो संरचना र अधिक भिडभाडका कारण हवाई यात्रा कठिन बनिरहेको छ । त्रिभुवन विमानस्थलमा हुने दैनिक चर्को हवाई ट्राफिक चाप, उद्दान रद्द र डिलेबाट हुने सास्ती हटाउन कानूनी प्रावधानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

नेपालमा अघिल्लो वर्षदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि ‘मन्ट्रीयल महासन्धि’ लागू भएपछि हवाई यात्रुका अधिकारहरु बढेका छन् । आन्तरिकमा भने हवाई यात्रुको अधिकार स्थापित हुने गरी कानून बनेको छैन । सरकारलाई सर्वोच्च अदालतले २०७२ सालमै तोकिएको समयमा मनासिव कारणबिना नै उडान रद्द भएमा, रद्दको पूर्वसूचना उपभोक्तालाई समयमै नदिए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न आदेश गरेको थियो ।

अदालतको फैसलामा समयमा उडान गर्नुपर्ने वायुसेवा कम्पनीको प्राथमिक दायित्व भएको भन्दै सेवाको मूल्य चुक्ता गरेका उपभोक्तालाई गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक र कानूनी हक भएको सर्वोच्चको फैसलामा उल्लेख थियो ।

नेपालमा उडान ढिला हुने र रद्द हुने कारणले यात्रु र सेवा प्रदायकबीच पटकपटक द्वन्द्व हुने गरेको छ । यसले हवाई उडानको सुरक्षामै जेाखिम निम्याउने खतरा देखिएको छ । तर, वायुसेवा प्रदायक कम्पनीहरुले भने विमानस्थलले धान्न नसक्ने गरी वायुयान र यात्रुको चाप बढेका कारण व्यवस्थापनमा मुस्किल परिरहेको बताउने गरेका छन् ।

सरकारले दायित्व तोक्ने

नेपालमा स्थापना भएका वा नेपालमा हवाई सेवा संचालन गर्ने विदेशी कम्पनीको यात्रुप्रतिको दायित्व तोक्ने कामसरकारले गर्नेछ । हवाई यातायात सेवा सञ्चालनबाट यात्रु वा मालसामान उपर कुनै प्रकारको क्षति पुग्न गएमा त्यस्तो हानी-नोक्सानीको दायित्व तोक्ने गरी सरकारले राजपत्रमा सूचना निकाल्ने छ । राजपत्रमा तोकिएअनुसार क्षतिपूर्ति दिने दायित्व सेवा प्रदायकको हुने मस्यौदामा उल्लेख छ ।

यसरी क्षतिपूर्ति तोक्दा महासन्धि मन्ट्रीयल महासन्धीले गरेको व्यवस्था भन्दा कम गर्न नहुने उल्लेख छ । उक्त महासन्धि अनुसार अन्तर्राष्ट्रिय उडानमा कम्पनीका कारण उडान ढिला भएमा, ब्याजेग हराएमा, सामानमा क्षति पुगेमा समेत क्षतिपूर्ति दाबी गर्न सकिने प्रावधान रहेको छ ।

प्राधिकरणको व्यवस्था

नयाँ नागरिक उड्डयन ऐन कार्यान्वयनमा आइसक्दा नेपालमा हवाई सेवाको नियमन तथा व्यवस्थापनका लागि दुई वटा प्राधिकरण रहने छन् ।

नेपालमा हवाई सेवाको नियमन गर्न ‘नेपाल नागरिक उड्डयन नियमन प्राधिकरण’ रहनेछ । विमानस्थलको संचालन तथा व्यवस्थापनमा भने ‘नेपाल हवाई सेवा प्राधिकरण’ रहनेछ ।

दुई प्राधिकरणका गठनका लागिसमेत विधेयकहरु अहिले कानून बन्ने प्रक्रियामा रहेका छन् । यसपछि कानूनी रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणको विभाजन हुने भएको छ ।

अहिले भने एउटै प्राधिकरणबाट नियमन र सेवा प्रदायकको काम भइरहेको छ । यही कारणले यूरोपेली यूनियनले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।

प्रकाशित मिति १३ पुष २०७६, आईतवार ०९:५१
Loading...