सरकारले नेपालमा फेसबुक—ट्वीटरलगायत सामाजिक सन्जाल बन्द गर्दै !

काठमाडौं, फागुन ३
सामाजिक सन्जालको अनियन्त्रित प्रयोगले समाजमा अपराध बढेको ठहर गर्दै नेपाल सरकारले नेपालमा फेसबुक÷ट्वीटरलगायत सामाजिक सन्जालहरू बन्द गर्ने तयारी गरेको छ । सरकारले नेपालमा दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनीसहित फेसबुकको अमेरिकास्थित कार्यालयलाई गृह मन्त्रालयले पत्राचार नै गरेको छ ।

सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले आग्रह गरेपछि गृह मन्त्रालयले सामाजिक सन्जाल फेसबुक र ट्वीटरलाई यस्तो व्यहोराको पत्राचार गरिएको हो ।

गृह मन्त्रालयले फेसबुक र ट्वीटरको अमेरिकास्थित प्रधान कार्यालयलाई नेपालमा दर्ता गरेर कार्यालय नखोले फेसबुक र ट्वीटर बन्द गर्ने चेतावनीसमेत पठाएको छ । सामाजिक सन्जालको अनियन्त्रित प्रयोगले नेपालमा अपराध बढेको र शान्ति सुरक्षामा खलल पुगेको भन्दै नेपालको कानुनअनुसार दर्ता नगरे वा कार्यालय नखोले फेसबुक र ट्वीटर नै बन्द गर्ने चेतावनी सरकारले दिएको हो ।

यसैबीच, सरकारले गत बिहीबार मात्रै व्यावस्थापिका संसद्मा सामाजिक सन्जाल सञ्चालन गर्न नेपालमै दर्ता हुनुपर्ने प्रावधानसहितको सूचनाप्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ दर्ता गराएको छ । विद्युतीय कारोबार ऐनलाई खारेज गरी नयाँ कानुन बनाउने उद्देश्यसहित ल्याएको विधेयकले सामाजिक सन्जाल सञ्चालन गर्न चाहने व्यक्ति वा संस्थाले नेपालको सरकारी निकायमा दर्ता हुनुपर्ने भनेको छ ।

अब यदि सरकारको योजनाअनुसार कानुन बने र फेसबुक-ट्वीटरले नेपालमै कार्यालय नखोले नेपालमा यस्ता सामाजिक सन्जालहरू बन्द हुने दिन आउन सक्छ । सामाजिक सन्जाल सञ्चालनसम्बन्धी नयाँ बन्ने कानुनमा सामाजिक सन्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिमाना र ५ वर्ष कैद सजाय हुने नियम राखिएको छ ।

यता, सामाजिक सन्जालमाथिको सरकारी कदमलाई अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने प्रयास भएको भन्दै विरोध सुरु भइसकेको छ । तर, सरकारका प्रवक्ता सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने उद्देश्य नभई अनर्गल र अनुचित क्रियाकलाप रोक्न सरकारले यस्तो कदम चालेका भन्दै सरकारी कदमको विरोध गरेका छन् ।

के अब सरकारले भनेजस्तै फेसबुक र ट्वीटरका सञ्चालकहरू दर्ता गरी पाऊँ भन्दै नेपाल आउलान् ?

प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १७:३२
Loading...