कन्डम पनि शाकाहारी, आइडिया यसरी आयो

जर्मनी  , सन् २०१५ मा फिलिप सिफर र वाल्डेमर जाइलर आफ्नो नयाँ कारोबारका लागि सामूहिक लगानी जुटाउँदै गर्दा कयौँले उनीहरुलाई प्रश्न गरे– शाकाहारी कन्डम बनाउने हो ?त्यतिबेला सिफर र जाइलर कन्डम उत्पादनको योजनामा जुटेका थिए । तर उनीहरु स्वयम् शाकाहारी कन्डमबारे जानकार थिएनन् । कन्डमको रबरलाई नरम बनाउन प्रयोग हुने चिल्लो पदार्थमा जनावरको शरीरबाट निकालिएको प्रोटिन हुने गर्दछ ।बर्लिनका दुई उद्यमी सिफर र जाइलरले पर्यावरणप्रति जागरुक ग्राहकको मद्दतबाट कन्डम बजारमा आफ्नो उत्पादनको पहिचान दिलाउने कोसिस गरिरहेका थिए । यस्ता ग्राहकको संख्या निकै ठूलो पाएपछि उत्साहित भएका उनीहरु चार वर्षपछि नै शाकाहारी ब्राण्डको उत्पादनले वार्षिक ५० लाख युरोसम्मको कारोबार गर्न थालेपछि चकित भए ।

उनीहरुको कम्पनीको नाम इन्हर्न हो । इन्हर्न अर्थात युनिहर्न शब्दको प्रयोग एक अर्ब डलर कारोबार गर्ने स्टार्ट–अप कम्पनीका लागि गरिन्छ । सिफर र जाइलरको कम्पनी अहिले त्यो उचाइमा पुगिसकेको त छैन, तर टिकाउ र पर्यावरणलाई केन्द्रमा राखेर कारोबार गर्न सफल भएको छ । यसबाट कारोबारी समूहका लागि सम्भावनाको नयाँ बाटो खुलेको छ ।

जर्मनीमा गर्भनिरोधक साधनमा ‘क्याप्सुल’ पछि कन्डम नै सबैभन्दा लोकप्रिय साधन हो । तर आफ्नी प्रेमिकासँगै बजारमा गएर कन्डम खरिद गर्दा सिफरलाई त्यसको ब्रान्डिङ पुरानो लाग्यो । आजका उपभोक्ता सायद पर्यावरणअनुकुल वैकल्पिक उत्पादन रुचाउँछन् कि भन्ने उनलाई लाग्यो ।

तर जाइलरले सुरुमा यसमा साथ दिएका थिएनन् । पछि भने उनी पनि सहमत भए । ‘इ–कमर्स’ का लागि यो उत्पादन आदर्श हुने उनलाई लाग्यो । उनी यस्तो कारोबार गर्न चाहन्थे जुन बजार सहजै लोकप्रिय हुने होइन, धर्ती, पर्यावरण र आफ्ना श्रमिकका लागि पनि सही र दिगो होस् । उनी १० वर्षदेखि स्टार्ट–अप बिजनेशमा थिए र आफ्ना सपना साकार गर्ने बाटो खोज्दै थिए ।

सिफर भन्छन्, ‘बाल्यकालमा कसैले मलाई तिमी ठूलो भएर के बन्न चाहन्छौ भनेर सोधेको भए म करोडपति बन्छु भनेर जवाफ दिन्थेँ होला ।’ १० वर्षसम्म उद्यमी रहेर उनी आफ्ना सहयोगी र मित्रहरु करोडपति बनिरहेको देख्थे तर उनी खुशी थिएनन् । कारोबार सुरु गर्नका लागि उनले ‘क्राउड फन्डिङ’ को सहारा लिए । यसमा उनले एक लाख यूरो जुटाए ।

यो त्यही समय थियो जब शाकाहारवाद इन्हर्नको उत्पादन योजनाको हिस्सा बन्यो । सिफर यस्तो उत्पादन बनाउन चाहन्थे जो सजिलै विक्री होस्, त्यसलाई अनलाइन मागका आधारमा पठाउन सकियोस् र फिर्ताको झन्झट नहोस् । किनकि अनलाइन विक्रीमा सबैभन्दा बढी लागत नै सामान पु¥याउन जानु र फिर्ता लिनुपर्ने अवस्था आए फेरि त्यसका लागि पनि आवत–जावतमा खर्च हुन्छ ।
‘कन्डम हाम्रो लागि सही उत्पादन थियो,’ उनले भने, ‘पहिला हामीले त्यो शाकाहारी हुन्छ कि हुँदैन भनेर सोचेका थिएनौँ ।’

भेँडाको आन्द्राबाट कन्डम बनाउने दिन गइसके पनि बजारमा उपलब्ध अधिकांश विकल्पमा अझै पनि पशु प्रोटिन प्रयोग भएको पाइन्छ । कन्डमको मूख्य घटक भनेकै रबर हो । जसलाई मूख्य रुपमा एसियाको उष्णकटिबन्धीय क्षेत्रमा हुने रबरको रुखबाट निकालिन्छ । केसीन प्रोटिन स्तनधारीको दूधमा पाइन्छ, जसलाई रबर नरम बनाउन प्रयोग गरिन्छ ।

तर इन्हर्नमा कुनै प्रकारको प्रोटिन प्रयोग गरिएको हुँदैन । यसमा प्राकृतिक रुखमा पाइने चिल्लो पदार्थ प्रयोग गरिन्छ । र, पर्यावरणको अनुकुल होस् भन्ने पनि विशेष ख्याल गरिएको हुन्छ ।
तर, शाकाहारी कन्डम बनाउने पहिलो कम्पनी भने इन्हर्न होइन । सन् २०१३ मा उत्तर अमेरिकी ब्रान्ड ग्लाइडले यस्तो कन्डम बनाइसकेको थियो ।

शाकाहारी कन्डमको बजार अहिले नयाँ छ । इन्हर्नका अधिकांश ग्राहक २० देखि ४० वर्ष उमेर समूहबीचका छन् र क्रेतामध्ये ६० प्रतिशत महिला हुने गरेका छन् ।

‘अहिले पनि धेरै मानिस कन्डमजस्तो सामान किन्न लजाउँछन्, किन्ने बेलामा अरु सामानभित्र त्यसलाई लुकाएर राख्छन्,’ सिफर भन्छन्, ‘त्यसैले हामी ग्राहकसम्म टिकाउ उत्पादन लिएर जान चाहन्थ्यौँ, साथमा क्रेताहरुमा हुने लाज र असजिलोलाई यसको आकर्षक डिजाइनले हटाओस् ।’

पछिल्ला तीन दशकमा ठूलो संख्यामा रबरका रुख रोपिएका छन्, साथै यसका लागि जंगल फँडानी बढेको छ । यसले वन्य जीवनमा पनि नराम्रो असर गरेको छ । यही परिस्थिति अन्त्य गर्नका लागि इन्हर्नले थाइल्याण्डका किसानको स–साना समूहसँग मिलेर काम गर्दै आएको छ ।

ती किसान कीटनाशक औषधि प्रयोग गर्दैनन् । सम्भव भएसम्म झारपातलाई उनीहरु मेसिनमार्फत निकाल्छन् । यसको उद्देश्य रबरलाई रसायनमुक्त बनाउनु हो । यस अतिरिक्त कुन स्थानीय प्रजातिले जैविक विविधतालाई बढावा दिन्छ भनेर माटो जाँच गरिन्छ ।

किसानलाई न्यूनतम मजदुरी दरभन्दा १५ % अधिक भुक्तान दिइन्छ । मजदूरहरुलाई अधिकारका बारेमा जानकारी दिन कार्यशालासमेत आयोजना गरिन्छ । प्याकेजिङ पनि पर्यावरण अनुकुल नै होस् भनेर योजना बनाइएको छ । कम्पनीको मूल प्याकेजिङ पुनः प्रयोग गर्न सकिने कागजबाट गरिएको हुन्छ । अर्को चरणमा भने अल्मुनियमरहित ¥यापर बनाउने बताइएको छ ।

इन्हर्नले आफ्नो मुनाफाको आधा हिस्सा पर्यावरण अनुकुल परियोजनामा खर्च गर्दैै आएको छ । सन् २०१८ मा यसले आफ्नो नाफाको १० प्रतिशत रकम सीओ–टु अफसेटमा निवेश गरेको थियो जो ग्रीन हाउस ग्यास उत्सर्जन घटाउन काम गर्ने परियोजनामा लगानी गर्दछ । यसका अन्य लाभार्थीमा जैविक कपास खेतीलाई बढावा दिने बायारे फाउन्डेशन लगायत छन् । जर्मनी प्रख्यात कम्पती डिएमसँग करार भएपछि इन्हर्नको सफलता अझ बढ्यो । इन्हर्नले गत वर्ष ४५ लाख भन्दा बढी कन्डम विक्री गरेको छ । सन् २०१९ को सुरुबाट यसले जैविक कपासबाट बनेको सेनेटरी प्याडसमेत उत्पादन थालेको छ ।

प्रकाशित मिति ७ पुष २०७६, सोमबार १०:३९
Loading...